तपाईँ सुन्दै हुनुहुन्छः

‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको छ’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनुभएको छ ।  

सिंहदरबारस्थित सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागु औषध ओसार–पसार तथा तस्करी नियन्त्रणका लागि गृहमन्त्रालयले चरणबद्ध योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन तथा आवश्यक साधन श्रोत पुर्‍याउन पनि सरकार लागिरहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व सङ्कलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा  सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनुपर्नेमा ध्यानाकर्षण गर्नुभयो । 

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमावर्ती युवालाई सीपमूलक तालिम, भाषा दक्षता र रोजगारीसँग जोड्दै सीमा क्षेत्रका नागरिकबाटै सूचना सङ्कलन तथा परिचालनको प्रभावकारी प्रणाली विकास गर्न सके सीमा सुरक्षा थप सुदृढ हुने बताउनुभयो ।

महानिरीक्षक पौडेलले खुला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो । 

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन, लागूऔषध तस्करी तथा सीमापार उत्पादन भएका नेपाली नक्कली मुद्रा नेपालभित्र भित्रिने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button