तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा ३० मिनेटमै राहदानी सेवा, बिचौलियामुक्त प्रणाली लागू

बर्दिया। जिल्ला प्रशासन कार्यालय बर्दियाले राहदानी सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र बिचौलियामुक्त बनाएको जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा ७ हजार ८ सय ८४ वटा राहदानी वितरण गरिएको छ। जसमध्ये ५ हजार ७ सय ३ जना पुरुष, २ हजार ८८ जना महिला तथा ९३ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७ सय ९७ र २०८०र८१ मा ९ हजार ५ सय ४५ वटा राहदानी वितरण गरिएको  कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताउनु भएको छ । 

ढकालका अनुसार हाल कार्यालयमा दैनिक औसत ५० देखि ५५ जना सेवाग्राही राहदानीका लागि आवेदन दिन आउने गरेका छन्। केही दिनअघि राहदानी विभागले नयाँ प्रणाली अद्यावधिक गर्दा ५ देखि ७ दिन सेवा प्रभावित भएकाले हाल केही भिडभाड बढे पनि सेवा नियमित रूपमा सञ्चालन भइरहेको बताउनु भयो ।

अनलाइन फाराम र भौचर तयार अवस्थामा प्राविधिक समस्या नआए करिब ३० मिनेटभित्रै राहदानीसम्बन्धी सेवा प्रदान गरिने प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो।

सेवाग्राहीको सहजताका लागि अनलाइन फाराममा भएका सामान्य त्रुटि सच्याउन सकिने व्यवस्था गरिएको छ भने बैंक धाउनु पर्ने झन्झट हटाउन कार्यालय परिसरमै नेपाल रेडक्रस सोसाइटी मार्फत भौचर भर्ने सुविधा उपलब्ध गराइएको छ। राहदानी बनाउने क्रममा  समस्या आएमा ह्वाट्सएप समूह मार्फत राहदानी विभागसँग तत्काल समन्वय गरी समाधान गरिने व्यवस्था पनि गरिएको कार्यालयले जनाएको  छ।

त्यसैगरी सुरक्षित आप्रवासन (सामी)कार्यक्रमअन्तर्गत राहदानी बनाउन आउने सेवाग्राहीलाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श, ठगीबाट जोगिने उपाय तथा आधिकारिक माध्यमबाट मात्रै रकम भुक्तानी गर्नुपर्ने विषयमा सचेतना प्रदान गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालयले कार्यालयभित्र बिचौलियाको प्रवेशमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। सेवाग्राहीलाई समस्या परे कर्मचारी, सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल समाधान गर्ने व्यवस्था रहेको  कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button