कर्मचारीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
वीरगञ्ज । कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पर्साको कालिका माई गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष संजय पटेललाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई कालिका माई गाउँपालिका–३ हरिहरपुर बिर्ताबाट आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कर्मचारीमाथि कुटपिटको घटनाको विरोधमा कालिका माई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारवाहीको माग गर्दै असार २४ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।
गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै वडाध्यक्ष पटेल सहितको टोलीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो ।
कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए ।
यसैक्रममा प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी गरेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्