तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, परराष्ट्रसचिव अमृत बहादुर राईसँग पनि उहाँले आजै भेट गर्नुभयो । भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो ।

नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button