तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पाँच बर्ष मुनिका बालबालिकामा कडा कुपोषणको उच्च जोखिम

बैतडी । बैतडीमा पाँच बर्ष मुनिका बालबालिकाहरूमा कडा कुपोषणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार  बैतडी जिल्लामा जन्मेको ६ महिनादेखि पाँच बर्ष मुनिका १ सय १३ जना बालबालिकाहरूमा  कडा कुपोषण रहेको पाइएको छ । पाखुराको नाप लिँदा १ सय १५ मिलिमिटर भन्दा कम भएका बालबालिकाहरूलाई कडा शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको छ । यस्तै १ सय १५ मिलिमिटर भन्दा बढी र १ सय २५ मिलिमिटर भन्दा कम नाप भएका बालबालिकाहरूको मध्यम शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो ।         

बालबालिकाहरूको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरेर पोषणस्थिती पत्ता लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । उचाइ अनुसारको तौल नभएका बालबालिकाहरूलाई पनि कुपोषितको सूचीमा राख्ने गरिएको छ । गत वैशाखमा सञ्चालन गरिएको पोषण लेखाजोखा अभियान अन्तर्गत बालबालिकाहरूको स्वास्थ्य परीक्षण गर्दा १ सय १३ जनामा कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । 

जिल्लाभरीका १० हजार १ सय ३ बालबालिकाहरूको पोषण लेखाजोखा गर्दा ५ सय १६ जना मध्यम खालको कुपोषण रहेको कार्कीले बताउनुभयो । मध्यम खालको कुपोषण भएका बालबालिकाहरूका लागि घरमै खानपानमा ध्यान दिनुपर्ने हुन्छ भने अति शीघ्र कुपोषण भएका बालबालिकाहरूको ओटीसी सेन्टरमा उपचार गरिने सूचना अधिकारी कार्कीको भनाइ रहेको छ । अति शीघ्र कुपोषण भएका बालबालिकालाई पोषिलो खानेकुरा दिएर उनीहरूको पोषणस्थितीमा सुधार ल्याउन सकिने बताइएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button