गोठ भत्किँदा च्यापिएर गल्याङ–६ का एक पुरुषको मृत्यु
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिढीखोला बनपालेमा गोठ भत्किँदा च्यापिएर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान करिब ५:१५ बजे आफ्ना पशुचौपायालाई दानापानी खुवाउन गोठमा गएका ६५ वर्षीय धनबहादुर रेस्मी मगर गोठ भत्किँदा च्यापिनुभएको हो। स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकाले पनि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक भैँसी र एक बंगुर पनि गोठमा पुरिएको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार केही दिनयताको निरन्तर वर्षाका कारण गोठको संरचना कमजोर बनेपछि उक्त दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। केही दिनअघि सोही क्षेत्रमा आएको बाढीले दुई घर र एक विद्यालयमा समेत क्षति पुर्याएको थियो।
वडा अध्यक्ष दीप छिरिङ गुरुङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पछिल्ला प्राकृतिक विपत्तिले गल्याङ–६ क्षेत्रलाई निरन्तर प्रभावित बनाइरहेको बताउनुभयो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्