तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धी दुईवटा महासन्धिसँग सम्बद्ध प्रोटोकल प्रतिनिधिसभाबाट अनुमोदन    

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुईवटा महासम्धीसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नम्बर ८१ लाई अनुमोदन गरेको हो ।

यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रममन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कारवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो ।

मन्त्री यादवले नेपालको संविधानले दासत्व, बाध्यकारी श्रम, मानव बेचबिखनदेखि सबै प्रकारका शोषणलाई निषेध गरेको भन्दै कानुन भन्दा पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेकोमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रमसम्बन्धी प्रोटोकल अनुमोदनपछि यसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा कामहरू अगाडी बढाउने बताउँदै मन्त्री यादवले विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा, श्रम शोषणको रोकथाम, पीडितको उद्धार तथा पुनर्स्थापनामा, श्रम निरीक्षण प्रणालीको सुदृढीकरण र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयमा जोड दिने बताउनुभयो ।

छलफलमा सांसदहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानुनहरूलाई समयानुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र श्रम शोषण अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी सम्झौताहरू महत्वपूर्ण रहेकाले महासन्धि अनुमोदन गर्नु आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले श्रमसम्बन्धी महासन्धिको अनुमोदनले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा श्रम मापदण्डप्रतिको विश्वास अझै माथि उठाउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button