बाजुराको दुर्गम बिच्छ्यामा नेपाल टेलिकमको फोरजी सेवा सुरु: वर्षौँदेखिको नेटवर्क समस्या अन्त्य
बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर–५ कुवाडी क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नयाँ फोरजी टावर जडानसँगै वर्षौँदेखि सामान्य फोन सम्पर्क गर्न समेत कठिनाइ भोग्दै आएका स्थानीयवासी लाभान्वित हुनुभएको छ।
नेपाल टेलिकमले जिल्लाकै दुर्गम क्षेत्रलाई लक्षित गर्दै नेटा र कुवाडीमा नयाँ फोरजी टावर स्थापना गरेपछि स्थानीयमा खुसी छाएको छ। यसअघि नेटवर्कको अभावका कारण आपत्कालीन अवस्थासमेत सञ्चार गर्न समस्या हुने गरेको थियो। अहिले भने फोरजी सेवा सञ्चालनमा आएपछि दैनिक जीवन, सूचना आदान–प्रदान तथा इन्टरनेट पहुँचमा उल्लेखनीय सहजता आएको स्थानीय राज बहादुर थापाले बताउनुभयो।

नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंह, टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर सुदर्शन आचार्य, प्रदीप साउँदसहितको प्राविधिक टोलीले नेटा र कुवाडीमा टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो।
टेलिकम प्रमुख ईश्वर सिंहका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला लगायतका बस्तीमा समेत सेवा विस्तार भएको छ। उहाँले सूचना प्रविधिको पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा गुणस्तरीय सञ्चार सेवा पुर्याउने उद्देश्यअनुसार फोरजी सेवा विस्तार गरिएको बताउनुभयो।यद्यपि गाउँपालिकाको वडा नम्बर–३ गुम्बा अझै पनि सञ्चार सेवाबाट प्रभावकारी रूपमा जोडिन सकेको छैन।
स्थानीयका अनुसार गुम्बामा सामान्य फोन सम्पर्कसमेत नलाग्ने समस्या अझै कायम छ।








प्रतिक्रिया राख्नुहोस्