मेची राजमार्गसहित इलामका सबै मुख्य सडक अवरुद्ध
इलाम। अविरल वर्षापछि इलाम हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने सबै मुख्य सडक अवरुद्ध भएका छन्। सडक बन्द हुँदा यातायात सेवा ठप्प भएको छ भने मालवाहक सवारीसाधन अलपत्र परेका छन्।
मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्डमा चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकल सञ्चालन गर्न अनुमति दिइए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा आइतबारदेखि बाढी बगेपछि उक्त सडक पनि अवरुद्ध भएको छ।
यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा र जोगमाई खोलामा जडान गर्ने भनिएको बेलीब्रिज भारतबाट हालसम्म नआएकाले समस्या समाधान हुन सकेको छैन।
झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जाने सबै सडक बन्द भएपछि माइखोलापारि ठूलो संख्यामा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री बोकेका ट्रक अलपत्र परेका छन्।
उहाँले भन्नुभयो, “सामग्री बोकेका ट्रक खोलापारि रोकिएका छन्। अर्को सवारीमा सारेर ल्याउने अवस्था छैन। पाल चुहिँदा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बिग्रने जोखिम बढेको छ। अब इलामका लागि तमोर करिडोर हुँदै महँगो लागतमा सामग्री ल्याउनुको विकल्प देखिएको छैन।”
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक काममा निस्किएका यात्रुहरू पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्।








प्रतिक्रिया राख्नुहोस्