बाजुरामा करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न
बाजुरा । बाजुरामा यस वर्षको धान रोपाइ अन्तिम चरणमा पुगेको छ। जिल्लाभर हालसम्म करिब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज न्यौपानेका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका प्रायः सबै गाउँमा धान रोपाइ अन्तिम चरणमा पुगेको छ। पूर्वउत्तरी क्षेत्रका केही स्थानमा वर्षा ढिलो भएकाले रोपाइमा केही ढिलाइ भए पनि समग्र जिल्लाको अवस्था सन्तोषजनक रहेको उहाँले बताउनुभयो।
बाजुरामा वार्षिक रूपमा करिब ४ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अधिकांश क्षेत्रमा यस वर्ष पनि समयमै रोपाइ सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा केही दिनभित्र रोपाइ सकिने अपेक्षा गरिएको छ।

जिल्लाको बुढीगंगा, बडीमालिका, त्रिवेणी, गौमुल, जगन्नाथ र खप्तड छेडेदह लगायतका स्थानीय तहमा धानखेती बढी हुने गरेको छ। जिल्लाको हिमाली तथा उच्च पहाडी भेगमा भने धानखेती सीमित क्षेत्रफलमा मात्र हुने गरेको छ। यस वर्ष असारको सुरुवातदेखि अधिकांश क्षेत्रमा पर्याप्त वर्षा भएकाले किसानलाई रोपाइ गर्न सहज भएको थियो। तर बाजुराको पूर्वउत्तरी भेगमा वर्षा केही ढिलो हुँदा रोपाइ समेत ढिलो सुरु भएको स्थानीय देब मिजारले बताउनुभयो । अहिले ती क्षेत्रमा समेत रोपाइ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। धान बाजुराको प्रमुख खाद्यान्न बालीमध्ये एक हो। समयमै रोपाइ सम्पन्न भएकाले मौसम अनुकूल रहे उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको कृषि प्राविधिकहरूको भनाइ छ।






प्रतिक्रिया राख्नुहोस्