तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य : महामन्त्री पौडेल

वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशमा नेपाली कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेको उल्लेख गर्दै मुस्लिम जनजाति, दलित, पिछडाबर्गलाई प्राथमिकताका साथ समेट्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिको आयोजनामा वीरगन्जमा सम्पन्न ‘क्रियाशील सदस्यता सचेतना कार्यक्रम’ लाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने, क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रम देशैभर आयोजना गरिएको बताउनुभयो ।

उहाँले क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड भएकाले सदस्यता वितरण र नवीकरण प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात, ढिलासुस्ती वा अन्योल हुन नहुने कुरामा जोड दिनुभयो ।

महामन्त्री पौडेलले कार्यकर्ताको सक्रिय सहभागिता, अनुशासन र जनतासँगको निरन्तर सम्पर्कले मात्रै पार्टीप्रतिको विश्वास अझ मजबुत हुने उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी अहिलेबाटै गाउँ–टोलसम्म सङ्गठन विस्तार र सुदृढीकरणमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू रमेश रिजाल, अजयकुमार चौरसिया, सुरेन्द्र चौधरी, रामरूप प्रसाद कुर्मी, जिल्ला उपसभापति रामनारायण कुर्मी, सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, महाधिवेशन प्रतिनिधि राकेश सिंह, महिला नेतृ किरण सरकार, मनोजा चौधरी लगायत क्रियाशील सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई क्रियाशील सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण तथा सङ्गठन विस्तारसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो । साथै, सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पार्टीको सङ्गठनलाई तल्लो तहसम्म सशक्त बनाउने विषयमा समेत छलफल गरिएको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button