तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी अनुदानमा जडान भएको पानीको श्रोतबाट चर्को शुल्क नलिन चेतावनी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत पानीका स्रोतबाट चर्को शुल्क असुल नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका लगायतका केही स्थानीय तहका वडा तथा बस्तीमा पानीका मुहान सुक्नुका साथै बोरिङबाट समेत पानी नआउँदा खानेपानीको समस्या उत्पन्न भएको उल्लेख गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको व्यवस्था मिलाउन सम्बन्धित वडा, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको जनाएको छ ।

सरकारी अनुदानमा निर्माण भएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै पानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह पनि गरिएको छ । व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button