डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला
डडेल्धुरा । डडेलधुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्ला पूर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमका बिच जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले डडेल्धुरा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदलाई हस्तान्तरण गर्नुभएको थियो ।
आवश्यक प्रक्रिया पूरा गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी गराउनुभयो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हाल १३ वटा रोगविरुद्ध १४ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रमार्फत प्रत्येक महिनाको २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २०८२ माघदेखि चैत्रसम्म सञ्चालन गरिएको घरधुरी सर्वेक्षणमा ० देखि १५ महिना सम्मका २ हजार १ सय ४५ बालबालिका मध्ये कुनै पनि शून्य डोजमा भेटिएका थिएनन् भने ३१ जना ड्रप आउट बालबालिका फेला परेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसैगरी १६ देखि २३ महिनासम्मका १ हजार ३ सय ६९ बालबालिकामध्ये ३ जना शून्य डोज र ३४ जना ड्रप आउट बालबालिका भेटिएका थिए ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान पनि गरिएको छ । स्वास्थ्य कार्यालय डडेलधुराले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्लाका सातवटै स्थानीय तहबाट एक–एक जना स्वास्थ्यकर्मीलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्