उग्रतारा मन्दिरमा आज रतेडी, भोलि देहिजाँत
डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल डडेल्धुरास्थित उग्रतारा मन्दिरमा आज रतेडी र भोलि उग्रतारा मेला अर्थात् देहिजाँत मनाइँदै छ।

देहिजाँतको तयारी अन्तिम चरणमा पुगेको अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्दिर परिसरमा सरसफाइ तथा शृङ्गारपटारसँगै व्यापारिक स्टलहरू पनि तयारी अवस्थामा राखिएका छन्।
जिल्ला सदरमुकामबाट करिब पाँच किलोमिटर उत्तरमा महाकाली राजमार्ग नजिक अमरगढी नगरपालिका–८ को डाँडामाथिको समथर भूभागमा अवस्थित उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्परा छ। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै श्रद्धालुको सहभागिता रहने यस मेलालाई स्थानीय भाषामा ‘देहिजाँत’ भनिन्छ। मेलामा सुदूरपश्चिमका विभिन्न जिल्ला, देशका अन्य भाग तथा भारतबाट समेत दर्शनार्थीहरू आउने गर्दछन्।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार आज राति रतेडी लाग्नेछ। रतेडीमा जिलोडा, छचोडा, खनमडा र दुमडा गरी चार गाउँबाट बाजागाजासहित निस्कने टोली भोलि बिहानको झिसमिसे उज्यालोमा मन्दिर पुग्ने परम्परा छ। त्यसपछि बिहानैदेखि ‘दिउँसेडी’ अर्थात् मुख्य उग्रतारा मेला सुरु हुनेछ।
मेला भर्न कैलाली, कञ्चनपुरलगायत स्वदेश तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउन थालेपछि डडेल्धुरा सदरमुकाममा चहलपहल बढेको छ।
सुदूरपश्चिमका प्रसिद्ध नौ भगवतीमध्ये बडिमालिका, मेलौली, निङ्गलाशैनी र उग्रतारालगायतलाई साक्षात् देवीका रूपमा मानिँदै आएको छ। तीमध्ये उग्रतारालाई देवीको उग्र रूपका रूपमा पूजाआजा गरिन्छ। मेला अवधिभर स्थानीय उत्पादन तथा कृषि उपजको समेत कारोबार हुने गर्दछ।








प्रतिक्रिया राख्नुहोस्