तपाईँ सुन्दै हुनुहुन्छः

विश्व विजेता सुनमाया बुढाको सम्मानमा गाईघाट रन सम्पन्न 

उदयपुर । इटालीमा सम्पन्न प्रतिष्ठित ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल १२० किलोमिटर पर्वतीय दौड प्रतियोगितामा महिला विधातर्फ प्रथम हुँदै नेपालको गौरव बढाएकी नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाको ऐतिहासिक सफलताको सम्मानमा उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार ‘गाईघाट रन’ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

‘स्वास्थ्यका लागि एक पाइला, समृद्ध गाईघाटका लागि हामी सबैको साथ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, खेलप्रेमी, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

गाईघाटमा हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको गाईघाट दौडिन्छ अभियानअन्तर्गत यसपटकको दौड नेपाली खेलकुदलाई विश्व मञ्चमा चिनाउन सफल सुनमाया बुढाको सम्मानमा समर्पित गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले सामूहिक रूपमा दौड पूरा गर्दै ‘सँगै दौडौँ, स्वस्थ रहौँ, समृद्ध बनौँ’ भन्ने सन्देश व्यवहारमै उतारेका थिए।

कार्यक्रमको उद्देश्य नागरिकलाई नियमित व्यायाम र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु, सामुदायिक दौड संस्कृतिको विकास गर्नु तथा स्वास्थ्य, सामाजिक एकता र नागरिक सहभागितालाई प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ। स्थानीयको सक्रियतामा सञ्चालन हुँदै आएको गाईघाट रन प्रतिस्पर्धाभन्दा पनि स्वस्थ समाज निर्माण र सकारात्मक जीवनशैली विकास गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको छ।

कार्यक्रममा सहभागी जितेन्द्र रोइलाले सुनमाया बुढाको अन्तर्राष्ट्रिय सफलता सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्दै यस्ता उपलब्धिले नयाँ पुस्तालाई खेलप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेकपा ९एमाले० उदयपुरका अध्यक्ष भागवत राउतले सुनमाया बुढाले विश्व स्तरमा हासिल गरेको सफलता नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यस्ता खेलाडीप्रति राज्यले थप प्रोत्साहन र सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले खेल, स्वास्थ्य र सामाजिक एकतालाई जोड्ने गाईघाट रनजस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले नियमित शारीरिक अभ्यासले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाईघाट रनले नागरिकमा स्वास्थ्यप्रति जागरण ल्याउनुका साथै सामुदायिक एकतालाई पनि मजबुत बनाएको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले सुनमाया बुढाको ऐतिहासिक सफलताले नेपाली खेलकुदप्रति नयाँ आशा र उत्साह जगाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले गाईघाट रनलाई स्वास्थ्य, सद्भाव र सकारात्मक सोच प्रवर्द्धन गर्ने प्रभावकारी अभियानका रूपमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच, कार्यक्रममा ‘कुरा गरौँ, कुरा सुनौँ, सहयोग माग्न नहिचकिचाऔँ, आउनुहोस्, सँगै दौडौँ, सँगै कुरा गरौँ, एकअर्कालाई साथ दिऔँ’ भन्ने  सन्देश सहित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, उदयपुरले सहभागीहरूलाई निःशुल्क हल्का खाजा र खानेपानी उपलब्ध गराउँदै अभियानलाई थप सहयोग गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button