पर्साको भिस्वा नाकाबाट पनि भारतीय सवारीसाधनको नेपाल प्रवेश पुनः सुचारु
वीरगञ्ज । पर्साको ठोरी नाका सञ्चालनमा आए लगतै भिस्वा नाकाबाट पनि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेश बुधबारदेखि पुनः सुचारु भएको छ ।

असार १९ गतेदेखि लागू गरिएको प्रवेश प्रतिबन्ध हटाइएसँगै पर्साको छिपहरमाई गाउँपालिकास्थित नेपाल भारत सीमावर्ती भिस्वा नाका क्षेत्रमा भारतीय सवारी आवागमन सहज भएको तथा, होटल पर्यटन गतिविधि चलायमान भएको स्थानीय व्यवसायीले जनाएका छन् ।
सरकारको निर्णयअनुसार ठोरी र भिस्वा दुवै स्थानमा छोटी भन्सार सेवा सुरु गरिएको हो । प्रारम्भिक चरणमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भारतीय चारपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क प्रवेश अनुमतिपत्र (सुविधा पास) उपलब्ध गराइने व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ । भिस्वा छोटी भन्सारमा कर्मचारी दिल लिम्बुसहित दुई जना कर्मचारी खटाइएको छ ।
भारतीय सवारीसाधनको पुनः प्रवेशसँगै सीमावर्ती क्षेत्रका बासिन्दालाई वैवाहिक, धार्मिक, पारिवारिक तथा पर्यटकीय प्रयोजनका लागि आवतजावत सहज हुने विश्वास गरिएको छ । साथै भारतीय पर्यटकको आगमन बढेमा होटल, रेस्टुरेन्ट, खुद्रा व्यापार तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ ।
यद्यपि, प्रवेश व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा, भन्सार व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । सीमावर्ती नाकामा सहज, पारदर्शी र व्यवस्थित आवागमन सुनिश्चित गर्न सके यस निर्णयले ठोरी र भिस्वा क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा दीर्घकालीन सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्