निजामती कर्मचारी अस्पतालका फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट ईन्जार्च तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार रुपियाँभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गानासहित फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक द्वय विनोद पोखरेल, शर्मिला श्रेष्ठ, फार्मेसी सहायक द्वय केशव राज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उनीहरूमाथि अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधीहरू आपूर्तिकर्ता फर्म र अस्पतालबिच भएको सम्झौताका सर्तबमोजिम फिर्ता गर्नुपर्नेमा सो नगरी, नगराई सार्वजनिक सम्पत्ति हिनामिना गरी हानिनोक्सानी पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, बमोजिमको कसुरमा बिगो रकम दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपियाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्