मुख्यमन्त्री पाण्डेद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा तथा नेपाल टेलिभिजन पोखरा ब्युरो कार्यालयको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
निरीक्षण टोलीमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, पूर्वमन्त्री तथा नेकपा संसदीय दलका नेता हरिबहादुर चुमान, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगायतको सहभागिता रहेको थियो ।
टोलीलाई रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयका प्रमुख शान्ति गुरुङ तथा वरिष्ठ प्राविधिक अधिकृत इन्जिनियर जगदीश शर्मा लगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयबाट नै नेपाल टेलिभिजनको पोखरा ब्युरो सञ्चालन हुँदै आएको छ । टोलीले ब्युरो कार्यालयको समेत अवलोकन गरी त्यहाँ उपलब्ध सेवा, पूर्वाधार र प्रसारण व्यवस्थाबारे जानकारी लिएको थियो ।

अवलोकनपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो सञ्चार प्रविधिअनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई थप आधुनिक र डिजिटल प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सुविधासम्पन्न तथा समयानुकूल स्टुडियो निर्माण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय रेडियो र टेलिभिजनप्रति नागरिकको चासो घट्दै गएको भन्ने जनगुनासो सुनिन थालेको उल्लेख गर्दै सरकारी सञ्चारमाध्यमले आमजनताको आवाज, विशेषगरी आवाजविहीन समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी सञ्चारमाध्यम जनतासँग प्रत्यक्ष रूपमा जोडिन सके मात्र यसको प्रभावकारिता र विश्वसनीयता अझ बढ्ने बताउनुभयो । जनताका दुःख–सुख, विकास निर्माण, स्थानीय आवश्यकता र जनचासोका विषयलाई केन्द्रमा राखेर गुणस्तरीय कार्यक्रम उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले डिजिटल तथा अनलाइन सञ्चारमाध्यमको तीव्र विस्तारसँग प्रतिस्पर्धा गर्न रेडियो र टेलिभिजनले अझ बढी मेहनत, नवीनता र प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले सङ्घीय शासन प्रणाली प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक कानुनी आधार समयमै नपाएको उल्लेख गर्दै सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने कानुनहरू ढिलाइ हुँदा प्रदेश सरकारले चाहेर पनि धेरै काम अघि बढाउन नसकेको बताउनुभयो । संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार कार्यान्वयनका लागि स्पष्ट र समयमै कानुनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रेस रजिष्टारको कार्यालयको समन्वयमा समुन्नत गण्डकी प्रदेश कार्यक्रम सञ्चालन हुँदै आएको रेडियोले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्