तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेका छौ: मन्त्री खनाल  

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउनुभयो ।

उहाँले नेपाललाई सूचना प्रविधि, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन तथा ऊर्जा एवं पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।

मन्त्री खनालले मन्त्रालयले राहदानी र कन्सुलर सेवालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रक्रियालाई तीव्रता दिएको भन्दै विदेशमा रहेका नेपालीको सीप र पुँजीलाई राष्ट्रिय विकासमा जोड्न ‘डायस्पोरा विज्ञ सञ्जाल’ र ‘ज्ञान बैङ्क’ स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । 

मन्त्री खनालले भारतसँगको सीमा विवादलाई ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

चिया निर्यातमा देखिएका समस्या समाधान भइसकेको र चीनसँगका विभिन्न व्यापारिक नाकाहरूलाई थप व्यवस्थित र सुदृढ बनाउन पहल भइरहेको जानकारी मन्त्री खनालले गराउनुभयो ।

परराष्ट्रमन्त्री खनालले राहदानी छपाइ र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको भन्दै नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने जानकारी दिनुभयो ।

संविधान र कानुन बमोजिम गैरआवासीय नेपालीहरूले नागरिकता लिए पनि त्यसको पूर्ण प्रयोग हालसम्म हुन नसकेको भन्दै परराष्ट्रमन्त्री खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउने विषयमा सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button