राष्ट्रियसभा बैठकमा विभागीय मन्त्रीहरूको जवाफ
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा सरकारले छुटाएको बजेटको आधाभन्दा बढी रकम कर्मचारीको तलबमा मात्रै खर्च हुने र बाँकी बजेट मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट खर्च हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८३ को मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकहरूमाथि सांसदहरुले उठाउनुभएको प्रशनहरुको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावको विश्वास बढाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षाकोठाको अवधारण अनुरुप सरकारले बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
त्यस्तै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालयअन्तर्गतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै लैङ्गिक समानता र महिला सशक्तीकरणलाई ध्यानमा दिएर सरकारले बजेट विनियोजन गरिएको बताउनुभयो ।
महिलाको आर्थिक विकासका लागि सीप विकास, उद्यमशीलता प्रवद्र्धन, स्वरोजगार, सिप परीक्षण तथा स्टार्टअप कार्यक्रम समावेश गरिएको बताउँदै मन्त्री वादीले विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत् महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको जानकारी गराउनुभयो ।
बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षलाई कानूनी सुधार वर्षका रुपमा मनाउने तयारी भइरहेको जानकारी दिँदै असान्दर्भिक कानुनहरूमा संशोधन गर्न उक्त घोषणा आगामी साउन १ गते गर्न लागेको जानकारी दिनुभयो ।

हिंसापीडित महिलाहरूलाई निःशुल्क कानूनी सेवा दिने संघसंस्थाहरुको तथ्याङ्कलाई सरकारी प्रणालीभित्र समेट्न खोजेको बताउँदै मन्त्री गौतमले सरकारले तत्काल कुन कुन कानून सुधार गर्नुपर्ने हो भनेर वेबसाइट मार्फत् सुझाव आह्वान गरेको पनि जानकारी दिनुभयो ।
विभिन्न सरकारवादी मुद्दाहरू दर्तादेखि कार्यान्वयनसम्मको सबै चरणलाई डिजिटल सिस्टममार्फत ट्रयाकिङ गरेर कार्यान्वयनलाई सहज बनाउन आवश्यक पहल भइरहेको जानकारी दिँदै मन्त्री गौतमले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन पनि सरकारले तीव्र रुपमा काम गरिरहेको बैठकलाई जानकारी गराउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि असार २३ गते मङ्गलवार दिउँसो सवा १२ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्