तपाईँ सुन्दै हुनुहुन्छः

पशुमा कृत्रिम गर्भाधानतर्फ किसानको आकर्षण बढ्दै

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ४९ हजार ५८७ पशुचौपायामा कृत्रिम गर्भाधान सेवा प्रदान गरेको जनाएको छ।

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालका अनुसार कृत्रिम गर्भाधान गराइएका पशुमध्ये २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी र ४७३ बाख्रा छन्। घरगोठमै प्राविधिकबाट सेवा उपलब्ध हुने, लागत कम पर्ने र उन्नत नश्लका पशु उत्पादन हुने भएकाले किसानको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो।

कार्यालयले कृत्रिम गर्भाधानका लागि आवश्यक जमेको वीर्य (सिमेन) उत्पादन तथा वितरणसमेत गर्दै आएको छ। हाल कार्यालयमा १२ मुर्रा राँगा, आठ साँढे, छ बोका र दुई बाख्री छन्। चालु आर्थिक वर्षको ११ महिनामा एक लाख ८५ हजार ७६ डोज जमेको वीर्य उत्पादन गरिएको छ। त्यसमध्ये ७३ हजार २६५ डोज साँढेको, एक लाख छ हजार २३२ डोज राँगाको र पाँच हजार ५८० डोज बोयर बोकाको रहेको कार्यालयले जनाएको छ।

यस अवधिमा ६३ हजार २९७ डोज वीर्य विभिन्न जिल्लामा वितरण गरिएको छ। वितरण गरिएकामध्ये ३७ हजार ९३६ डोज साँढेको, २४ हजार १४७ डोज राँगाको तथा एक हजार २१४ डोज बोयर बोकाको रहेको छ।

कार्यालयले प्राकृतिक गर्भाधान सेवासमेत सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षको ११ महिनामा प्राकृतिक विधिबाट १५५ गाई, ३८४ भैँसी र १११ बाख्रा गरी कुल ६५० पशुचौपायामा गर्भाधान गरिएको कार्यालयले जनाएको छ।

वि.सं. २०३६ मा भैँसी फाराम (बुल सेन्टर)का रूपमा स्थापना भएको यो कार्यालय हाल ४७औँ वर्षमा प्रवेश गरेको छ। संघीयता कार्यान्वयनपछि २०७५ सालदेखि राष्ट्रिय पशु प्रजनन कार्यालयका रूपमा सञ्चालन हुँदै आएको यस कार्यालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ जिल्लामा उन्नत पशु प्रजनन सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button