तपाईँ सुन्दै हुनुहुन्छः

लघुउद्यममार्फत गरिबी न्यूनीकरणमा जोड

बाँके। गरिबी न्यूनीकरण तथा स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले जानकी गाउँपालिका, बाँकेले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जना, लघुवित्त पहुँच र बजारीकरणसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, जिल्ला समन्वय समितिका सदस्य जुलफेकार मनिहार, कार्यपालिका सदस्य, कर्मचारी तथा मिलाप संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले लघुउद्यम स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै सीप, पूँजी र बजारको पहुँच सुनिश्चित गर्न सके गरिबी न्यूनीकरणसँगै रोजगारी सिर्जनामा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो। उहाँले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

वरिष्ठ लेखा अधिकृत अन्सारीले उद्यमको दिगोपनाका लागि वित्तीय अनुशासन, बचतको संस्कार र लघुवित्त संस्थासँगको प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। वडा नं. ५ का अध्यक्ष यादवले स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै उद्यमशीलतालाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

योजना शाखा प्रमुख शोभा पौडेलले लघुउद्यम विकास कार्यक्रमले नयाँ उद्यमी उत्पादन गर्नुका साथै उत्पादनलाई बजारसँग जोड्ने, वित्तीय पहुँच विस्तार गर्ने र आयआर्जन वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो।

कार्यक्रममा मिलाप संस्थाले स्थानीय लघुउद्यमीले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरेको थियो। गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय नागरिकलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरताको आधार सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button