तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जडीबुटीजन्य तेलका लागि आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

बाँके।बाँकेमा उत्पादन हुने जडीबुटीजन्य तेलको गुणस्तर संरक्षण गर्दै किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले डिभिजन वन कार्यालय बाँकेले आधुनिक भण्डारण केन्द्र निर्माण सुरु गरेको छ।

मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक आयआर्जनका रूपमा प्रवर्द्धन गरिएको जडीबुटी खेतीलाई दिगो र व्यावसायिक बनाउने लक्ष्यसहित राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त केन्द्र निर्माण हुन लागेको हो।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार जिल्लाका किसानले मेन्था, लेमनग्रास र क्यामोमाइललगायत जडीबुटीको व्यावसायिक खेती गर्दै आएका छन्। ती जडीबुटीबाट प्रशोधन गरी उत्पादन हुने तेल सुरक्षित राख्न आवश्यक पूर्वाधारको अभाव रहेकाले आधुनिक भण्डारण केन्द्र निर्माण थालिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार केन्द्रमा वातानुकूलित प्रिफ्याब्रिकेटेड इन्सुलेटेड स्यान्डविच प्यानल प्रविधि प्रयोग गरिनेछ। यसले आवश्यक तापक्रम कायम राखी जडीबुटीजन्य तेलको गुणस्तर, रासायनिक तत्त्व र तौल सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार हाल किसानले उत्पादन गरेको तेल चर्को घाम, तापक्रमको उतारचढाव र चुहावटका कारण गुणस्तरमा ह्रास आउने, रासायनिक तत्त्व घट्ने तथा तौल कम हुने समस्याबाट प्रभावित हुँदै आएको छ। यसका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको उहाँले बताउनुभयो। आधुनिक भण्डारण केन्द्र सञ्चालनमा आएपछि यी समस्या न्यूनीकरण भई किसानले उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो।

वन कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा मेन्था, लेमनग्रास र क्यामोमाइलजस्ता वन्यजन्तुले कम क्षति पुर्‍याउने जडीबुटी बालीको खेती प्रवर्द्धन गर्दै आएको छ।

उत्पादन भएको तेलको सुरक्षित भण्डारण, प्रशोधन र प्रभावकारी बजारीकरणको अभावका कारण पछिल्ला वर्षमा केही किसान जडीबुटी खेतीबाट विमुख हुँदै गएको भन्दै कार्यालयले किसानको समस्यालाई सम्बोधन गर्न १२ लाख रुपैयाँको लागतमा भण्डारण केन्द्र निर्माण सुरु गरिएको जनाएको छ।

कार्यालयका अनुसार केन्द्र निर्माण सम्पन्न भएपछि जडीबुटीजन्य तेलको सुरक्षित भण्डारण, गुणस्तर संरक्षण र प्रतिस्पर्धी मूल्यमा बजारीकरणमा सहयोग पुग्नेछ। यसबाट जडीबुटी खेतीप्रति किसानको आकर्षण बढ्नुका साथै ग्रामीण क्षेत्रमा रोजगारी, आयआर्जन र जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button