स्याङ्जा प्रहरीले सुरु गर्यो क्युआर सूचना सेवा
स्याङ्जा । आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न स्याङ्जा प्रहरीले गल्याङ नगरपालिका १ राम्दी स्थित प्रहरी चेकपोस्टबाट क्युआर कोडमा आधारित सूचना सेवा सञ्चालनमा ल्याएको छ ।

वडा प्रहरी कार्यालय वालिङको पहलमा बिहीबार देखि सुरु भएको यस सेवा मार्फत पर्यटक तथा सवारी चालकले मोबाइलबाट क्युआर कोड स्क्यान गरी यात्रा सम्बन्धी आवश्यक जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा अडियो तथा टेक्स्ट मार्फत प्राप्त गर्न सक्नेछन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब निरीक्षक हरिप्रसाद काफ्लेले सेवामा प्रमुख पर्यटकीय गन्तव्यको दूरी र अवस्थिति, सडकको अवस्था, दुर्घटना सम्भावित क्षेत्र, ट्राफिक नियम, नजिकका प्रहरी कार्यालय, अस्पताल, पेट्रोल पम्प, विद्युतीय सवारी चार्जिङ स्टेशन, सार्वजनिक शौचालय, बजार, होटल रेस्टुरेन्ट तथा पर्यटकीय स्थलसम्बन्धी जानकारी समेटिएको बताउनुभयो ।
यात्राका क्रममा आवश्यक सूचना तत्काल उपलब्ध गराएर दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि र पर्यटकलाई थप सुरक्षित तथा सहज यात्रा अनुभव दिलाउने उद्देश्यले यो सेवा सुरु गरिएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशको प्रवेश द्वारका रूपमा परिचित राम्दीमा सुरु गरिएको यो प्रविधिमैत्री सेवाले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउनुका साथै स्याङ्जाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्