कर्णालीमा २२.८ प्रतिशत धान रोपाइँ सम्पन्न
सुर्खेत । मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा नहुँदा कर्णालीमा यस वर्ष धान रोपाई सुस्त देखिएको छ । कर्णाली प्रदेशमा हालसम्म २२.८ प्रतिशत धान रोपाइँ भएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा १६.३ प्रतिशतले कमी हो । कर्णालीमा गत वर्ष यही अवधिमा ३९.१ प्रतिशत रोपाई भई सकेको थियो । कृषि विभागको तथ्यांकअनुसार देशभर ११.३३ प्रतिशत धान रोपाई सम्पन्न भएकोमा असार १२ गतेसम्म प्रदेशगत रुपमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाई कर्णालीमा भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
देशभर गत वर्ष यही अवधि (२०८२ असार १३) मा १५.६ प्रतिशत रोपाई सम्पन्न भएको थियो । देशभर १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान रोपाई हुने गरेकोमा यही असार १२ गतेसम्म १ लाख ५६ हजार ५८३ दशमलव ६७ हेक्टर जमिनमा मात्रै रोपाई भएको छ ।
प्रदेशगत रुपमा कर्णालीमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत र बागमतीमा १२.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । यस्तै, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेशमा ५ प्रतिशत मात्रै रोपाई भएको छ । मधेश प्रदेशमा रोपाइँको प्रगति सबैभन्दा कम छ ।
मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रुपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्यांकअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलिमिटर) को ६९.६ प्रतिशत हो ।








प्रतिक्रिया राख्नुहोस्