तपाईँ सुन्दै हुनुहुन्छः

२१ औँ असारे रोपाइँ महोत्सव १४ गते शिशुवामा हुने

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका–३० शिशुवा स्थित देउराली खोला छेउमा असार १४ गते हुने भएको छ ।

परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । विगतमा असार १५ गते आयोजना हुँदै आएको महोत्सव यस वर्ष ज्येष्ठी पूर्णिमाका कारण किसानले हलो नचलाउने परम्परालाई मध्यनजर गर्दै एक दिनअघि आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्ताको आकर्षण बढाउने तथा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । 

कार्यक्रममा वडा नंं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, पोखरा महानगरपालिकाका आर्थिक हासाखा प्रमुख मनोहर कडरिया, पत्रकार रमेश पौडेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक युवराज गुरुङ, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली, वडा कृषि सञ्जालका अध्यक्ष बाबुराम ढकाल लगायतले पर्यटन र स्थानीय कृषकका प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । 

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । साथै हल गोरु दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड तथा रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिनेछ ।

परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार महोत्सवमा उत्कृष्ट कृषकलाई सम्मान समेत गरिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button