‘नेपाली खेलकुदको ध्यान १० औँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको छ’
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) सकिए लगत्तै नेपाली खेलकुदको ध्यान कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको बताउनुभएको छ ।

सुर्खेतलाई केन्द्र बनाएर कर्णालीमा पहिलो पटक गर्न लागिएको बृहत् राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मन्त्री पोखरेलले त्यसलाई भव्य बनाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।
२०३८ सालमा प्रत्येक २ वर्षको अन्तरमा गर्ने योजनासहित सुरु भएको बृहत् राष्ट्रिय खेलकुदको अहिलेसम्म ९ संस्करण मात्र सम्पन्न भएका छन् । मन्त्री पोखरेलले त्यसमा दुःख व्यक्त गर्दै आगामी दिनमा नियमिततामा ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न गर्न खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूसँग साथ र सहयोगको लागि आह्वान पनि गर्नुभएको छ ।
१० औँ बृहत् राष्ट्रिय खेलकुदका खेलहरू मङ्गलवारबाट सुर्खेत, बर्दिया र नेपालगञ्जमा सुरु हुने भएका छन् ।
सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रिय खेलकुदअन्तर्गत केही खेलहरू पूर्वाधार कमीका कारण बर्दिया र नेपालगञ्जमा पनि हुने भएका छन् ।
मंसिर १६ गते औपचारिक उद्घाटन समारोह हुने भए पनि ८ गते मङ्गलवारबाटै पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धाहरू सुरु हुनेछन् ।
फुटबल, क्रिकेट र बास्केटबलका खेलहरू सुर्खेतमै हुने भए पनि टेनिस बर्दिया तथा पौडी नेपालगञ्जमा गर्ने तयारी छ । यसबाहेक सुटिङको प्रतिस्पर्धा नेपालगञ्ज तथा खोखो बर्दियामा गरिने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
कुल ३२ खेल समावेश बृहत् राष्ट्रिय खेलकुद महोत्सव अन्तर्गत सल्यानमा जुडो र कुस्ती, पश्चिम रुकुममा शारीरिक सुगठन, कालिकोटमा बुद्धिचाल तथा दैलेखमा आइटिएफ तेक्वान्दो र जुम्लामा पुरुष फुटबलका सेमिफाइनलपछिका खेलहरू गराउने आयोजकको योजना छ । बाँकी सबै खेलहरू सुर्खेतमै हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्