अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय तीन दिन बन्द
नेपालगञ्ज । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा फेरि बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि असार १० देखि १२ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो । अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि पनि गत जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा बिदा दिएको थियो ।

अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको शाहीले बताउनुभयो । वर्षा नहुँदा नेपालगञ्जमा केही दिन यता तापक्रम निकै बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा (लु) ले दैनिकीमा प्रभाव पारेको छ ।








प्रतिक्रिया राख्नुहोस्