रास्वपा महाधिवेशन बन्द सत्र पुनः २ बजेका लागि सर्यो
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आज बिहानैदेखि सुरु हुने भनिएको बन्द सत्रको कार्यक्रम पुनः धकेलिएको छ।

प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) वितरण कार्य अझै नसकिएको र आन्तरिक तयारी अपुग भएको भन्दै निर्वाचन समितिले बन्द सत्रको समय आज अपराह्न २ बजेका लागि सारेको हो।

निर्वाचन समितिका अनुसार अब प्रतिनिधिहरूले खाना खाइसकेपछि मात्र बन्द सत्रको औपचारिक सुरुवात हुनेछ। महाधिवेशनका लागि तीव्र रूपमा कार्ड वितरण भइरहे पनि प्राविधिक र व्यवस्थापकीय कार्य बाँकी रहँदा समय तालिका प्रभावित हुन पुगेको हो। हालसम्म करिब ४ हजार प्रतिनिधि कार्ड वितरण भइसकेको समितिले जनाएको छ।

यसैबीच, निर्धारित समयभन्दा निकै ढिला भइसक्दा पनि बन्द सत्र सुरु हुन नसकेपछि महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरु असन्तुस्ट देखिन्छन। ‘डिजिटल र चुस्त व्यवस्थापन’को नारा दिने पार्टीकै पहिलो महाधिवेशनमा यस्तो व्यवस्थापकीय कमजोरी देखिएको भन्दै सामाजिक सञ्जाल र जनस्तरमा असन्तुष्टि व्यक्त भइरहेको छ।
पार्टीको नीति, विधान संशोधन र नयाँ नेतृत्व चयनका लागि यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।








प्रतिक्रिया राख्नुहोस्