तपाईँ सुन्दै हुनुहुन्छः

कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै

काठमाडौँ । कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासुदेव श्रेष्ठ (वासु क्षितिज)ले विपद्बारे चासो राख्न र चनाखो हुन आह्वान गर्दै कार्टुन कला सिर्जना गर्नुभएको छ । 

दुई जना व्यक्तिबीच भएको संवादलाई उहाँले सामान्य मान्छेले पनि बुझ्ने भाषा र शैलीमा प्रस्तुत गरी चेतना दिने प्रयास गर्नुभएको हो । 

सामाजिक सञ्जालमार्फत कुनै पनि सामग्रीको चर्चा बढी हुने परिपाटीसँग विपद्लाई जोडेर उहाँले विपद्का सन्देशलाई आमनागरिकसम्म पुर्‍याउने प्रयास गर्नुभएको छ ।

संवाद यस्तो छ 
एक पुरुष प्रश्न गर्छन्, “के सूचना पढिरा ? टिकटकमा केके भाइरल भइरहेको छ हेरम् त !” महिला जवाफ फर्काउँछिन्, “हेर बुद्धि ! विपद्बारे सूचनासहित आवश्यक जानकारी राख्न परेन ? चनाखो भइराख्न परेन ? भाइरलकै पछि कुदेर हुन्छ ?”

गम्भीर विषलाई रङ र रेखाका माध्यमबाट कार्टुनले असाधारण सन्देश दिएको छ । क्यानभासका दृश्य एउटै घरभित्रको संवाद रहेकाले उहाँहरू श्रीमान् श्रीमती हुन् भन्ने कुरा छ्ट्याउन गाह्रो छैन । श्रीमान् भाइरलको पछि दगुर्दा श्रीमती विपद्बारे चनाखो हुँदै अरूलाई पनि सन्देश बाँड्न व्यस्त देखिन्छिन् । श्रीमतीले श्रीमान्लाई भाइरलको पछि लाग्नभन्दा विपद्को सन्देशबारे चनाखो हुन र चासो दिन आह्वान गरिरहेको यो कार्टुन कला समाजलाई विपद्बारे बुझाउनका र झक्झक्याउन निक्कै सशख्त छ । 

अर्का कलाकार देवेन्द्र थुम्केलीको कार्टुनमा भारी हिमपात भइरहेको देखिन्छ । बाक्लो हिउँले सडक छोपिएको छ । वरपरका दृश्य हिउँले सेताम्य छन् । हिउँदे पुरिएर साना साना रुख, बु्ट्टाका टुप्पा मात्रै देखिएका छन् । सडकका गाडीका हुट पनि हिउँले छोपिएको छ । चालक गाडी चलाउन डराइरहेका छन् । यत्तिकैमा यात्रुको मुखबाट फुत्त आवाज निस्किन्छ, “छिटो जाउँ न ! किन ढिला गरेको !!” चालक जवाफ फर्काउँछन्, “यस्तो हिमपातका बेला हिँड्नुहुन्न ! कस्तो स्वर्ग जाने कुरा गरेको !!”

यो कार्टुनले हिमपातबाट जोगाउन र जोगिन आग्रह गरिरहेको छ । यस्तै अर्को कार्टुनमा कलाकार सौरगङ्गा दर्शनधारीको चट्याङसँग बच्ने उपायका बारेमा छन् । चट्याङबाट बच्न घरभित्र गर्न नहुने कुराहरू उहाँले चित्रमार्फत देखाउनुभएको छ । 

विद्युतीय सामानको प्रयोग गर्न नहुने, झ्याल अगाडि बस्न नहुनेलगायत सन्देश उहाँले लेखेर अनि रङ र रेखाको संयोजन गरेर देखाउनुभएको छ । जस्तै: चट्याङका समयमा कपडामा आइरन लगाउन, मोबाइल चलाउन, टिभी हेर्न नहुने कुरा उहाँले कार्टुन कलामार्फत सन्देश दिनुभएको छ ।

अर्का कलाकार केशवराज खनालका तीन वटा कार्टुन छन् । एउटा कार्टुनमा विपद्का समयमा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग र महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिनुभएको छ । अर्कोमा उहाँको वन डढेलो नियन्त्रणसम्बन्धी छ । अर्को कार्टुनमा वातावरण प्रदूषण नगरौँ भन्दै माइकिङ गरिरहेको गाडी पनि धुवाँ उडाउँदै गरेको कार्टुन रहेको छ । यसले हाम्रो नेपालका सरकारी निकायका सवारीसाधन हो हालतलाई सङ्केत गर्दै वायु प्रदूषणबारे सचेत गराएको छ । 

राजेश मानन्धरले आफ्नो कार्टुनमा गर्मीको अवस्था र त्यसबारे जोगिने उपाय प्रस्तुत गर्नुभएको छ । रविनले भूकम्पको पूर्व तयारीका बारमा सन्देश बाँड्नुभएको छ । पानसिङले ग्यासको सुरक्षित प्रयोगबारे कार्टुनमार्फत सिकाउनुभएको छ । 

यस्तै यस्तै विपद्का सन्देश बोकेका ४६ वटा कार्टुन अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा प्रदर्शन भइरहेका छन् । अन्य कार्टुनमा डोजरे विकाश, ट्राफिक नियम उल्लङ्घन, लुको जोखिम, घर निर्माणमा सावधानी, झटपट झोला, सर्पदंशलगायत विभिन्न विषय जोडेर व्याङ्ग्य र सचेतनामूलक सन्देश प्रस्तुत गरिएको छ ।

यही असार १० गतेसम्म प्रदर्शन हुने उक्त कार्टुन कला प्रदर्शनी कार्टुनिष्ट क्लब अफ नेपाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त सहकार्यमा आयोजना गरिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले भन्नुभयो, “कार्टुनमार्फत विपद्का सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्छ र सजिलै बुझ्नका लागि पनि कला माध्यम हुन्छ, त्यसैले यो सहकार्य गरिएको हो ।” उहाँले स्कुल तहदेखि कलामार्फत विद्यार्थीहरूलाई विपद्का बारेमा बुझाउँदै जानुपर्नेमा जोड दिनुभयो । अहिले मनसुनको समय छ । विपद्को संघारमा मुलुक रहेकाले यो कार्टुन कला समय सान्दर्भिक प्रदर्शनी भइरहेको छ । 

क्लबका अध्यक्ष क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्व जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम हुनसक्ने मौसममा विपद्बारे जानकारी दिने सबैभन्दा उपयुक्त माध्यम नै कला हो । यसबाट मानिसले चाँडै बुझ्छ र बुझाउन सकिन्छ ।” 

यस्ता कार्यक्रम आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा लैजान पनि उहाँले प्राधिकरणलाई सुझाव दिनुभएको छ । प्रतिष्ठानले गत वर्ष यसैगरी कार्टुन कला प्रदर्शन गरेको थियो । गत वर्षका कार्टुनसहित यसपाली संयुक्त रूपमा यहाँ कार्टुन प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमार्फत विपद्बारे जान्न र सचेत हुन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको प्रतिष्ठानकी निवर्तमान प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button