तपाईँ सुन्दै हुनुहुन्छः

४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप : विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम

सुर्खेत । ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रथम भएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा आर्मी क्लबले ट्र्याक र फिल्डका अधिकांश विधामा उत्कृष्ट प्रदर्शन गर्दै १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक प्राप्त गरी प्रथम भएको हो । 

प्रतियोगितामा नेपाल पुलिस क्लबले ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित कुल १८ पदक जित्दै दोस्रो भएको छ ।  

त्यस्तै, बागमती प्रदेशले २ स्वर्ण, एक रजत र एक कास्यसहित कुल ४ पदक जितेर तृतीय भएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबकी जयरानी थारुले ५७ दशमलव १९ सेकेण्डमा ४ सय मिटर दौड पुरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन् । 

उनले नवौं राष्ट्रिय प्रतियोगितामा ४ सय मिटर दौडमा एपीएफकी रमिता थारुले बनाएको ५८ दशमलव १० सेकेण्डको राष्ट्रिय रेकर्डलाई तोडिन ।  त्यस्तै ट्रिपलजम्पमा पनि नेपाल पुलिस क्लबकै केसरी चौधरीले बनाएको १२ मिटर २० सेन्टिमिटरको रेकर्डलाई तोड्दै जयरानी थारुले १२ मिटर ४९ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरिन ।  

यसैगरी १६ सय मिटर रिले दौडमा पनि नेपाल पुलिस क्लबकै महिला खेलाडीहरूले ४ दशमलव २ सेकेण्डको राष्ट्रिय रेकर्डलाई तोड्दै ४ दशमलवको नयाँ रेकर्ड कायम गरे । यस्तै त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङ्गजम्प तर्फ आठौँ राष्ट्रिय प्रतियोगिताको पुरानो ७ मिटर ३२ सेन्टिमिटरको रेकर्डलाई तोड्दै ७ मिटर ५८ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरेका छन् ।

नेपाल एथलेटिक्स सङ्घको आयोजना एवं कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा तीन दिनसम्म सञ्चालन भएको ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा पुरुष तथा महिला तर्फ १४÷१४ गरी २८ इभेन्टमा प्रतिस्पर्धा भएका थिए । ७ प्रदेश, ३ विभागीय टिम गरी १० टिमबाट १२० महिला, १२० पुरुष गरी २४० जना महिला पुरुष खेलाडीहरूले २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशसँगै विभागीय टिमतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीतर्फ नेपाल पुलिस क्लबहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । 

प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने खेलाडीले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button