तपाईँ सुन्दै हुनुहुन्छः

योग चिकित्सा संसारको सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिका रूपमा स्थापित: मुख्यमन्त्री यादव 

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले योग चिकित्सा संसारको सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिका रूपमा स्थापित भएको बताउनु भएको छ ।

१२ औँ विश्व योग दिवसको अवसरमा आज वीरगन्जको शंकराचार्यद्धार परिसरमा ‘‘स्वस्थ उमेरका लागि योग’ भन्ने मूल नाराका साथ भारतीय महावाणिज्य दूतावासद्वारा  आयोजित अन्तर्राष्ट्रिय बृहत् योग शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला योगले सिकाउने बताउनुभयो । 

उहाँले रोग लागेपछि औषधि–उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु राम्रो भएको बताउँदै योग एक यस्तो पद्धति हो, जो रोगमुक्त जीवनको लागि सहायक हुने दाबी गर्नुभयो । 

मुख्यमन्त्री यादवले स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा हामी निरोगी, जवान, ऊर्जावान् बन्न सक्छौँ भन्नुहुँदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले योगको महत्व बढ्दै गएको र अव विद्यालय क्षेत्रमा समेत अध्ययन अध्यापन सँगै योगलाई समावेश गरी अनुशासित, नैतिकवान् र ऊर्जाशील भाविपुस्ताको निर्माणका लागि अहिले नै ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । 

मुख्यमन्त्री यादवले नियमित योग अभ्यासले वृद्धावस्थामा देखिने शारीरिक तथा मानसिक समस्याहरूलाई न्यूनीकरण गरी स्वस्थ बुढ्यौली कायम राख्न मद्दत पु¥याउँने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री  शङ्कर चौधरीले योगले मानसिक तनाव, बेचैनी, डिप्रेसन आदिबाट मुक्त गर्ने र मनभित्रको विकार हटाउने बताउँदै प्रेम, करुणा एवं सकारात्मक सोच विकासका लागि योग महत्त्वपूर्ण रहेको कुरामा जोड दिनुभयो ।

त्यसैगरी मधेस प्रदेशका कृषि  तथा भूमि व्यबस्थामन्त्री श्याम पटेलले नियमित योग गर्नाले शरीरमा रोगको प्रवेश हुन नपाउने र रोग लागिसकेको अवस्थामा समेत त्यसलाई गम्भीर अवस्थामा पुग्न नदिने कुरा अनुसन्धानहरूबाट पुष्टि भएको बताउनुभयो । 

भारतीय महावाणिज्य दूतावासका बाणिज्यदुत देवि साहय मीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरू, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, ग्रिनसीटिका अध्यक्ष जय प्रकाश खेतान, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौंगाई लगायत नेपाल तथा भारतका हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button