गोरखापत्रका सप्तरी प्रतिनिधि यादवमाथि भौतिक आक्रमण
सप्तरी । गोरखापत्रका सप्तरी प्रतिनिधि देवराम यादवमाथि महादेवा गाउँपालिका–१ स्थित पकरी चौकमा चिया खाइरहेका बेला भौतिक आक्रमण भएको छ । साथीहरूसँग चौकमा चिया खाइरहेको अवस्थामा महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका श्रीमान् सुरेन्द्र यादव सहितको समूहले पत्रकार यादवमाथि कुटपिट गरी घाइते बनाएका हुन।

चिया पसल सञ्चालक विणादेवी यादवले बचाउन खोज्दा उहाँ तथा उहाँकी १७ वर्षीय छोरा महेश यादव र ७१ वर्षिया आमा भोलि देवीमाथि समेत आक्रमण भएको थियो ।
महादेवा गाउँपालिका–१ मा रहेका बाटोसम्बन्धी समाचार लेखेको निहुँमा सुरेन्द्र यादव सहितको समूहले एक्कासी हेलमेटले कुटपिट गरेको पत्रकार यादवले बताउनुभयो। टाउकोसहित शरीरका विभिन्न भगमा गम्भीर चोटपटक लागेका पत्रकार यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।
सुरेन्द्रको निर्देशनमा स्थानीय जगदेव यादवको छोराहरू रविन्द्र यादव, दिपेन्द्र यादव, वासुदेव यादवको छोरा विराजन यादव र सुरेन्द्र यादवको भतिजा कमल यादवले कुटपिट गरेको पीडित पत्रकार यादवले बताउनुभयो।
यसैगरी नेपाल पत्रकार महासङ्घ सप्तरीले पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका कार्यवाहक सचिव डम्बर राईले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी कुटपिटको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
महासङ्घले घाइते पत्रकार यादवको उपचारको उचित व्यवस्था तथा कुटपिटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै कुटपिटमा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि नबढाए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
पत्रकार यादव प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी तथा विगत लामो समयदेखि गोरखापत्र दैनिकमा सप्तरी सम्वाददाताको रुपमा कार्यरत रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्