तपाईँ सुन्दै हुनुहुन्छः

जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण

बाँके । बाँकेको जानकी गाउँपालिकामा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि गठन गरिने जानकी वाङ्मय प्रतिष्ठानसम्बन्धी ऐनको प्रस्तावित मस्यौदा गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई हस्तान्तरण गरिएको छ।

प्राध्यापक हरि तिमिल्सिनाले अध्यक्ष खाँलाई प्रतिष्ठान गठनसम्बन्धी ऐनको मस्यौदा हस्तान्तरण गर्दै स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई संस्थागत विकास गर्न प्रतिष्ठान महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मस्यौदा बुझ्दै अध्यक्ष खाँले गाउँपालिकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै आगामी असार १० गते बस्ने गाउँसभाबाट उक्त ऐन स्वीकृत हुने र त्यसपछि जानकी वाङ्मय प्रतिष्ठान गठन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतिष्ठानले स्थानीय प्रतिभाको पहिचान, सृजनशीलताको विकास तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा प्रथम जानकी पर्यटन प्रवर्द्धन तथा साहित्यिक महोत्सव–२०८३ को प्रतीक चिन्ह अध्यक्ष छब्बन खाँ तथा गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीलाई हस्तान्तरण गरिएको थियो । महोत्सवले जानकी गाउँपालिकाको पर्यटन, साहित्य र सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको प्राध्यापक तिमिल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई संस्थागत स्वरूप दिन प्रतिष्ठान गठनको तयारी अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button