रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको शिलान्यास यसै वर्ष हुन्छ: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशको गौरवको योजनाको रुपमा रहेको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको शिलान्यास यसै वर्ष हुने बताउनु भएको छ ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा आज देखि जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको निको कप राष्ट्रिय महिला टि–२० प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले विश्व तथा नेपालमा क्रिकेटको लोकप्रियता निक्कै बढेको हुनाले बहुप्रतिक्षित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि २५६ करोडको टेण्डर सहित शिलान्यास गरिने बताउनु भयो ।
उहाँले मधेश प्रदेशका सबै जिल्लाहरूमा रहेको खेलकुदका संरचनाहरूको स्तरोन्नतिका लागि अगामी आर्थिक वर्षको बजेटमा सरकारको सीमित श्रोतका बीच स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको बताउनु भयो ।

मुख्यमन्त्री यादवले आफू भौतिक मन्त्री भएको बेलामा नै रामजानकी रंगशालाको डिपिआर बनाउने काम भएको र त्यसमा भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको भ्रमणको क्रममा घोषणा गर्नु भएका १ सय भारतीय रकम लगानी गर्ने गरि संघ सरकारसँग समन्वय गरेर प्रक्रिया अगाडी बढाएको स्मरण गराउनु भयो ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम प्रसाद पटेलले मधेश प्रदेशलाई संघ सरकारले वर्षेनी रुपमा अनुदान कटौती गरेपनि प्रदेश सरकारले यस पटक खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको बताउनु भयो ।
अध्यक्षको आसनबाट बोल्दै मधेश खेलकुद परिषद्का उपाध्यक्ष शिवजी गुप्ताले मधेश प्रदेशमा खेलकुदको वातावरण निर्माण गर्न ‘खेली मधेश जीजि मधेश’ नारा सहित खेल तथा खेलाडीको वृत्ति विकासका लागि प्रत्येक खेलाडीलाई मासिक रुपमा २ हजार ५ सय रकम प्रदान गर्ने कार्यक्रम ल्याएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह तथा महासङ्घका महासचिव धर्म लामा सहितका वक्ताहरूले बोल्नु भएको थियो । ७ प्रदेश र सशस्त्र प्रहरीका महिला क्रिकेट टिम गरेर ८ टिमको सहभागी प्रतियोगिता रहेको छ । उद्घाटन खेल मधेश तथा कोशी प्रदेशका बीचमा जार रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्