तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी राजमार्गमा बस दुर्घटना: एक जनाको मृत्यु, ३२ घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा शनिबार बिहान विद्यालयका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी सवार बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो।

दुर्घटनामा बर्दिबास नगरपालिका निवासी करिब ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ।

प्रहरीका अनुसार अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहे पनि केहीको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएको थियो।

बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय संगमचोकले नियन्त्रणमा लिई घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

यसैबीच, उदयपुर जिल्लाको ‘मेरुदण्ड’का रूपमा चिनिने मदन भण्डारी राजमार्गमा पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका छन्। दुर्घटना न्यूनीकरणका लागि स्थानीय तह, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा समाजसेवीहरूको संयुक्त पहलमा ‘शुभयात्रा अभियान’ सञ्चालन भइरहेका बेला भएको यो दुर्घटनाले स्थानीयवासीलाई थप चिन्तित बनाएको छ।

स्थानीयवासीका अनुसार मदन भण्डारी राजमार्गको उदयपुर खण्डमा सडकको एलाइन्मेन्टमै समस्या रहेको छ। विशेषगरी उदयपुरगढी गाउँपालिका–७ को जोगीटोल क्षेत्रमा झण्डै तीन किलोमिटर लामो ओरालो तथा अत्यधिक घुमाउरो सडक भएकाले सवारी दुर्घटनाको जोखिम उच्च रहेको उनीहरूको भनाइ छ। सो क्षेत्रमा पटक–पटक दुर्घटना दोहोरिने गरेको उल्लेख गर्दै स्थानीयहरूले सडकको संरचनागत कमजोरी तत्काल सुधार गरी सुरक्षित यातायातको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button