तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साई लेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ः४० बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । 

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । चन्द पाटन नगरपालिका ४ स्थित भुमेश्वर माविका शिक्षक हुन् । 

घाइतेहरूमा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, दशरथचन्द नगरपालिका–४ मडालाका ८ वर्षीय हेमविक्रम जोशी, दशरथचन्द नगरपालिका–४ मडालाकी ६० वर्षीया पूर्णदेवी जोशी, दशरथचन्द नगरपालिका–४ की २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी २० वर्षीया ललिता लावड, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी अन्दाजी ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट, दशरथचन्द नगरपालिका–४का अन्दाजी २–३ वर्षीया दृष्टि कार्की र बसका सहचालक समेत रहेका पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

घाइते मध्ये सहचालक भट्टलाई धनगढी रेफर गरिएको छ । अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । 

बसमा चालकसहित १२ जना सवार थिए । चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरा सकुशल रहेका छन् भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button