पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड २५ लाख
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ५५।१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदान ५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ८२ लाख, संघीय सरकार समानीकरण अनुदान रु ४९ करोड ३७ लाख गरी संघीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ३ अरब १८ करोड ६० लाख हुने अनुमान गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने अपेक्षा गरिएको छ। राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतबाट ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुटाइने लक्ष्य महानगरले राखेको छ। संघीय राजस्व बाँडफाँडबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड ९ लाख ८६ हजार तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
महानगरले आगामी वर्ष पर्यटन राजधानी पोखराको आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, गुणस्तरीय आधारभूत सेवा, वातावरणमैत्री शहरी विकास, डिजिटल शासन, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार तथा समावेशी विकासलाई बजेटका प्रमुख उद्देश्य राखेको उपप्रमुख गुरुङले बताउनुभयो । वित्तीय अनुशासन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ अर्थात् ४० प्रतिशत मात्र खर्च भएको नगरसभामा प्रस्तुत गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्