‘सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो ।
प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताउनुभयो । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँको प्रतिबद्धता थियो । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राख्नुभएको थियो । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उहाँले मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।
टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राख्नुभएको थियो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्