चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताउनुभएको छ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उहाँले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले हाम्रो गाउँ ठाउँ, पाखा पखेरा र कुनाकन्दराका कथा व्यथालाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो ।
उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रूपान्तरण, चेतना, राष्ट्र प्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनुभयो । उहाँले हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेशअनुरूपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइ दिन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभयो । यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्दछ र यही क्षेत्रमा आत्मसम्मानसहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महशुस गराउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाउन् भन्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्