तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा: बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी। गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । 

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताउनुभयो । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताउनुभयो । प्रदेशको समृद्धिका मुख्य आधारका रुपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य देवका पहाडी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएपनि सरकारले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजगारी सिर्जना, नवप्रवर्तनलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको बताउनुभयो । 

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताउनुभयो । प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले बजेटको सफलता यस कार्यान्वयनमा निर्भर रहने बताउनुभयो । उहाँले युवाहरूलाई कृषि पेसाप्रति आकर्षित गर्ने गरी ‘रिटर्न टु भिलेज’लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य गणेशमान गुरुङ, श्यामराजा महत, भोजराज अर्याललगायत बजेटमाथिको छलफलमा भाग लिनुभएको थियो ।   

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, राजकुमारी भुजेल, सरस्वती गुरुङ, सिताकुमारी सुन्दासलगायत समसामयिक विषयमा आफ्ना धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button