तपाईँ सुन्दै हुनुहुन्छः

शारीरिक र मानसिक स्वास्थ्यका लागि निरन्तर योग अभ्यास जरुरी: मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहनका लागि निरन्तर योग अभ्यास जरुरी रहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर भारतीय महावाणिज्य दूतावास (वीरगञ्ज) द्वारा आज जनकपुरधाममा आयोजित विशेष योग कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो।

उहाँले वर्तमान समयमा व्यस्त जीवनशैली र विभिन्न कारणले नसर्ने रोगहरूको प्रकोप बढ्दै गएको उल्लेख गर्नुभयो। मानिसहरू अनेकन स्वास्थ्य समस्याबाट पीडित भइरहेकाले त्यसबाट मुक्तिका लागि दैनिक जीवनमा योग अपनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री यादवले अहिले विश्वभर नै योगप्रतिको आकर्षण बढ्दै गएको बताउँदै नेपालमा प्राचीन कालदेखि नै योग तथा प्राणायामको विशेष महत्त्व रहँदै आएको स्मरण गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले निरन्तरको योग अभ्यासले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले सबैलाई योग गर्न सुझाव दिनुभयो। उहाँले मधेश प्रदेशमा पछिल्लो केही वर्षयता योगप्रतिको आकर्षण निकै बढेको र कतिपय दीर्घरोगहरूको निदान योगबाट सम्भव भएको अनुसन्धानहरूले समेत प्रमाणित गरिसकेको बताउनुभयो।

त्यस्तै, भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले भारत सरकारको प्रस्ताव र संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जुन २१ लाई विश्वव्यापी रूपमा योग दिवसका रूपमा मनाइँदै आएको जानकारी दिनुभयो। योगले मानिसलाई शारीरिक र मानसिक रूपमा सबल बनाउने भएकाले नै विश्वका विकसित देशहरूमा समेत यसको लोकप्रियता तीव्र रूपमा बढेको उहाँले बताउनुभयो।

विशेष योग कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी एवं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button