भूमिगत राजनीतिक सङ्घर्षदेखि ड्रागन खेतीसम्म: मणि खम्बुको प्रेरणादायी यात्रा
उदयपुर । एक समय देश परिवर्तनको सपना बोकेर वर्षौंसम्म भूमिगत जीवन बिताएकी नेतृ आज आधुनिक कृषि उद्यममार्फत सफल किसानको पहिचान बनाउन सफल हुनुभएको छ।

राजनीतिक आन्दोलन, संविधानसभा, पार्टी नेतृत्व र कृषि उद्यमको यात्रालाई समानान्तर रूपमा अघि बढाइरहनु भएकी चौदण्डीगढी नगरपालिका–६ सिरुवानीकी मणि खम्बु यतिबेला ड्रागन फल खेतीका कारण चर्चामा हुनुहुन्छ।
तत्कालीन सशस्त्र द्वन्द्वकालमा परिवर्तनको अभियानमा होमिनु भएकी खम्बुले लामो समय भूमिगत राजनीतिक जीवन व्यतीत गर्नुभयो। देश शान्ति प्रक्रियामा प्रवेश गरेपछि उहाँ खुला राजनीतिमा सक्रिय हुनु भयो र २०६४ सालमा उदयपुर निर्वाचन क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भयो। हाल उहाँ नेपाली कम्युनिष्ट पार्टी उदयपुरको जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदै सक्रिय राजनीतिक भूमिका समेत निर्वाह गरिरहनु भएको छ।
राजनीतिक व्यस्ततासँगै उहाँले कृषिलाई पनि जीवनको महत्वपूर्ण पाटो बनाउनु भएको छ। तीन वर्षअघि आफ्नै डेढ बिघा जग्गामा सुरु गरेको ड्रागन फल खेती अहिले सफल व्यावसायिक कृषि उद्यमका रूपमा स्थापित हुँदै गएको छ। सुरुवाती चरणमा लगानी, मेहनत र धैर्यको आवश्यकता परे पनि व्यवसाय सुरु गरेको दोस्रो वर्षदेखि नै उत्पादन र आम्दानी लिन थालेको उहाँ बताउनु हुन्छ।
हाल उहाँको ड्रागन खेतीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। बजारमा बढ्दो माग र राम्रो उत्पादनका कारण आगामी दिनमा खेती विस्तार गर्ने योजना समेत रहेको उहाँको भनाइ छ। आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र व्यावसायिक सोचका साथ गरिएको खेतीले अपेक्षाकृत राम्रो प्रतिफल दिन थालेपछि स्थानीय किसानहरू समेत ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका छन्।
खम्बुका अनुसार कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार पनि हो। युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिने सम्भावना प्रशस्त रहेको उहाँको विश्वास छ। “मेहनत, लगनशीलता र सही योजना भए कृषि क्षेत्रमा राम्रो भविष्य निर्माण गर्न सकिन्छ,” उहाँ भन्नु हुन्छ।
उदयपुरमा पछिल्लो समय ड्रागन फल खेती विस्तार हुँदै गए पनि सफल व्यावसायिक नमूनाका रूपमा मणि खम्बुको खेतीलाई विशेष रूपमा हेरिएको छ। बजारमा ड्रागन फलको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा उहाँको खेतीले अन्य किसानलाई समेत नयाँ सम्भावनाको बाटो देखाइरहेको छ।
भूमिगत राजनीतिक सङ्घर्षबाट सुरु भएको उहाँको यात्रा संविधानसभा हुँदै आज कृषि उद्यमसम्म आइपुगेको छ। राजनीतिक नेतृत्वसँगै उत्पादनमुखी कृषिमा समेत सफलता हासिल गरिरहनु भएकी मणि खम्बुको जीवनयात्रा परिवर्तन, सङ्घर्ष, आत्मनिर्भरता र सफलताको प्रेरणादायी उदाहरण बनेको छ।
आज सिरुवानीमा फलेका ड्रागनका बोटहरूले केवल फल मात्र उत्पादन गरेका छैनन्, सङ्घर्ष र निरन्तर मेहनतले सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश पनि प्रवाह गरिरहेका छन्। त्यसैले मणि खम्बुको ड्रागन खेती अहिले चौदण्डीगढी मात्र नभई समग्र उदयपुरका लागि प्रेरणा र सम्भावनाको प्रतीक बनेको छ।








प्रतिक्रिया राख्नुहोस्