तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाको फराकिलो जित, कतारलाई ६–० ले पराजित

काठमाडौं । फरवार्ड जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेपछि क्यानडाले फिफा विश्वकपमा फराकिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ९ खेलाडीमा सीमित कतारलाई ६–० ले पराजित गर्दै क्यानडाले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा क्यानडाका लागि सेल लारिन र नाथन सालिबाले एक–एक गोल गरे भने एक गोल आत्मघाती रह्यो ।

खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए । २९औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा कतारका होमाम इलामिन रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफको छैटौँ मिनेटमा असिम माडिबो रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झर्‍यो । ६४औँ मिनेटमा नाथन सालिबाले फ्रि-किकमार्फत गोल गर्दै क्यानडालाई ४–० को अग्रता दिलाए ।

७५औँ मिनेटमा कतारका मोहम्मद अल मन्नानीले आत्मघाती गोल गरे । इन्जुरी समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै क्यानडा दुई खेलबाट चार अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ भने समान खेलबाट एक अंक जोडेको कतार पुछारमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button