तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारमा बैतडीका १५० उजुरीमध्ये १०० फर्छ्योट

बैतडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा बैतडीबाट परेका १५० वटा उजुरीमध्ये १०० वटा उजुरी फर्छ्योट भएका छन्।

गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका गरी कुल १५० उजुरीमध्ये १०० वटा फर्छ्योट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीले जानकारी दिनुभयो।

आज बिहीबार बैतडीको पाटन नगरपालिकामा आयोजित स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि स्थानीय तहसँग समन्वय र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार बैतडीमा नियमअनुसार काम नगर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नगर्ने लगायतका विषयमा उजुरी बढ्दै गएका छन्।

जिल्लाबाट स्थानीय तहसँग सम्बन्धित विभिन्न विषयमा उजुरी पर्ने क्रम बढिरहेको आयोगले जनाएको छ। विशेषगरी विद्यालयका लागि सेनिटरी प्याड खरिद तथा वितरण, सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सामग्री खरिद, योजना छनोट, अनुदान वितरण तथा विकास निर्माणसँग सम्बन्धित विषयमा बढी उजुरी पर्ने गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो।

उहाँले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई कानुन, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न आग्रह गर्दै भ्रष्टाचार नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button