तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलीदेखि सुरु हुँदै
मकवानपुर । तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता भोली असार ३ गतेदेखि औपचारिक रुपमा सुरु हुने भएको छ ।

प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा खेलकुदको विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो ।
यसअघि जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय भएपनि आन्तरिक तयारीका कारण प्रतियोगिता सारिएको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन भोली दिउँसो ४ बजे हेटौँडा–६, स्थित गौरीटार रङ्गशालामा हुनेछ ।
यद्यपि, एथलेटिक्स विधाका खेलहरू हिजो असार १ गतेदेखि नै हेटौँडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको र प्रतियोगिताको समापन असार ९ गते हुने परिषद्का सदस्यसचिव दीपक लामाले बताउनुभयो ।
सदस्यसचिव लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका २ हजार ९५५ खेलाडी र १ हजार २०६ अफिसियल गरी कुल ४ हजार १६१ जनाको सहभागिता रहने छ । कुल १५ विधा सञ्चालन हुने प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत हेटौँडामा फुटबल (महिला÷पुरुष), क्रिकेट (पुरुष), बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबल टेनिसका खेलहरू सञ्चालन हुनेछ । महिला क्रिकेट र कराँते चितवनमा साथै भलिबल, पौडी, उसु र जुडोका खेलहरू काठमाडौँ र ललितपुरमा सञ्चालन हुनेछ । प्रतियोगितामा उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ ।







प्रतिक्रिया राख्नुहोस्