रेडियो नेपाल र म्युजिक रोयल्टी सङ्कलन समाजबीच रोयल्टी संरक्षणबारे छलफल
काठमाडौँ । रेडियो नेपाल र म्युजिक रोयल्टी सङ्कलन समाज नेपालबीच रेडियो नेपालबाट उत्पादित सिर्जनात्मक सामग्रीहरूको रोयल्टी संरक्षण गर्नेबारे छलफल भएको छ ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आज भएको छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रोयल्टीसम्बन्धी समस्या समाधान गर्न उत्पादक र प्रसारकबिच सन्तुलन कायम गर्दै प्रशासनिक तथा कानुनी आधारमा अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चटौतले कलाकारहरू राष्ट्रको गहना भएको र रेडियो नेपालमा रहेका सिर्जनात्मक सामग्रीहरू स्रष्टाहरूको बौद्धिक तथा सिर्जनात्मक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु संस्थाको दायित्व भएको बताउनुभयो ।

छलफलमा रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारीले रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेका प्रसारण सामग्रीहरूमा हक–अधिकार सुनिश्चित गर्न र अरू डिजिटल प्लेटफर्महरू मार्फत भइरहेको आफ्नो प्रसारण सामग्रीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति गठन गरी छानबिन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

छलफलमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्तीले अझै पनि अभिलेखीकरणमा पुराना किउसिट तथा प्रविधि प्रयोग भइरहेको भन्दै रोयल्टी व्यवस्थापनको समस्या समाधानका लागि डिजिटल अभिलेखीकरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम महाशाखाका उपनिर्देशक गोकर्ण रेग्मीले रेडियो नेपालले उत्पादन गरेका गीत तथा सिर्जनात्मक सामग्रीहरूलाई राज्यको सम्पत्तिको मान्यता दिने उद्देश्यले संरक्षण र अभिलेखीकरण गर्न आवश्यक कदमहरू अघि बढाइसकेको जानकारी गराउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्