तपाईँ सुन्दै हुनुहुन्छः

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्।

खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको पासमा आई. साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। सुरुआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाब बनाएको थियो।

तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

पहिलो हाफमै बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। मोरक्कोको सुदृढ रक्षापंक्तिले ब्राजिलको आक्रमणलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्यो भने ब्राजिलले पनि थप गोल गर्न सकेन।

इन्जुरी समयसम्म दुवै टोलीले जितका लागि संघर्ष गरे पनि खेल १–१ को बराबरीमा टुंगियो।

यस नतिजासँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले समान एक–एक अंक जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button