दुधौरा पुल सञ्चालनमा नआउँदा यात्रु र सवारी साधनलाई सास्ती

वीरगंज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा निर्माणाधीन दुधौरा पुल अन्तिम चरणमा पुगे पनि अझै सञ्चालनमा आउन नसक्दा सवारीसाधन तथा यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।
पुल सञ्चालनमा ढिलाइ हुँदा पूर्व पश्चिम राजमार्गको निजगढ–पथलैया सडकखण्डमा सञ्चालित दैनिक सयौँ साना तथा ठूला सवारीसाधन तथा हजारौँ यात्रुले सास्ती खेप्न बाध्य भएका छन् ।
पुल निर्माणको जिम्मा लिएको महादेव–खिम्ती–हीराचन जेभी काठमाडौँले पुल निर्माणका क्रममा दुधौरा खोलाबाट अनुमतिविना नदीजन्य पदार्थ उत्खनन गरी प्रयोग गरेको आरोप लगाउँदै जीतपुरसिमरा उपमहानगरपालिकाले एक एक्साभेटर, एक टिपर र एक ट्याक्टर नियन्त्रणमा लिएपछि ठेकेदार कम्पनीले निर्माण कार्य ठप्प पारेको हो ।
पुल सेक्टर कार्यालय काठमाडौँ र ठेकेदार कम्पनीका प्राविधिकहरूले गत वर्षको पुस मसान्तसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखेका थिए । पछि फागुन मसान्तसम्म काम सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने जानकारी दिइएको थियो । तर निर्माण सम्पन्न हुन नसक्दा पुल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

उपमहानगरपालिकाका अनुसार २०८२ चैत २६ गते गरिएको स्थलगत अनुगमनका क्रममा ठेकेदार कम्पनीले दुधौरा खोलाबाट अनुमतिविना नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरेको भेटिएको थियो । अनुगमनका क्रममा नम्बर नखुलेको एक्साभेटर, बागमती प्रदेश ०३–००१ क ११५३ नम्बरको टिपर र ना.२त ९९४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको थियो । उपमहानगरपालिकाले चारवटा प्लटबाट कुल चार हजार ४६२.२१५ घनमिटर ग्राभेल उत्खनन गरिएको दाबी गर्दै मूल्य अभिवृद्धि करसहित १६ लाख दुई हजार ६०७ रुपैयाँ राजस्व तथा जरिवाना असुल गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ ।
यस सम्बन्धमा उपमहानगरपालिकाले २०८३ जेठ ४ गते सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुल सेक्टर काठमाडौँलाई पत्र पठाउँदै ठेकेदार कम्पनीबाट उक्त रकम असुलीका लागि सहजीकरण गर्न आग्रह गरेको थियो । त्यसपछि पुल सेक्टर कार्यालयले पनि कानुनअनुसार राजस्व दाखिला गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको जनाएको छ ।उपमहानगरपालिकाको दाबी अनुसार पुलको दुवै छेउतर्फ करीब २०० मिटर सडकमा भरिएको ग्राभेल दुधौरा खोलाबाट उत्खनन गरिएको हो । तर ठेकेदार कम्पनीले भने आफूहरूले कुनै अवैध उत्खनन नगरेको दाबी गरेको छ ।
यसबीच गत जेठ ९ गते आएको बाढीले अस्थायी ड्राइभर्सन बगाएपछि सवारीसाधन आवतजावतमा समस्या भएको थियो । जीर्ण अवस्थामा रहेको बेलिब्रिजसमेत बन्द भएपछि चालकहरू बाध्य भएर निर्माणाधीन पुल प्रयोग गर्न थालेका थिए । हाल पुलबाट सवारी सञ्चालन भइरहे पनि माथिल्लो सतह सम्याउने, खाल्डाखुल्डी मर्मत गर्ने तथा कालोपत्रे गर्नेलगायतका काम अझै बाँकी छन् ।
दुधौरा पुल निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा पुल सेक्टर कार्यालय काठमाडौँ र महादेव–खिम्ती–हीराचन जेभीबीच ठेक्का सम्झौता भएको थियो । पुल विभागका अनुसार १९.६० मिटर चौडाइ, चार लेन, दुई स्पान र ९० मिटर लम्बाइको पुल निर्माणका लागि कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक १५ करोड २२ लाख रुपैयाँमा ठेक्का सकार गरेको हो । निर्माण अवधि तीन वर्ष तोकिए पनि विभिन्न कारणले सात वर्षसम्म परियोजना लम्बिएको छ । अहिले निर्माण कार्य सम्पन्नताको अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तह र ठेकेदार कम्पनीबीचको विवादले पुल सञ्चालनमा थप ढिलाइ भइरहेको छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावका कारण सामान्य प्रशासनिक विवादले गर्दा पुल निर्माणमा अवरोध भएको हुँदा यसलाई सम्बन्धित निकायले तत्काल सम्बोधन गरी उत्पन्न समस्या समाधान गर्न यातायात व्यवसायी तथा यात्रुहरूको माग रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्