३० कृत्रिम पोखरीले बाँके निकुञ्जमा वन्यजन्तुलाई राहत

बाँके । बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेका ३० वटा कृत्रिम पोखरी वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी सावित भएका छन्। वर्षौंदेखि चुरे तथा भावर क्षेत्रमा देखिँदै आएको पानी अभावको समस्या समाधान भएपछि वन्यजन्तुहरू पानीको खोजीमा गाउँबस्ती छिर्ने क्रम घटेको निकुञ्जले जनाएको छ ।
निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि वन्यजन्तुहरूको जीवनचक्र सहज बनेको छ। यसले वन्यजन्तुको स्वास्थ्य अवस्था सुधारिनुका साथै मानव बस्तीमा पुग्ने घटनामा समेत कमी आएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको महत्वपूर्ण प्रतिनिधि क्षेत्र हो। यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले चरम पानी अभाव झेल्दै आएका थिए। प्राकृतिक रूपमा चगाई नाला र मुगुवा खोला बाहेक वर्षभरि पानी रहने अन्य भरपर्दो स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्कन बाध्य हुने अवस्था थियो ।
यस समस्याको दीर्घकालीन समाधानका लागि निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीहरूमा नियमित पानी भर्ने व्यवस्था गरेको छ। यस प्रविधिबाट निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रभित्र पानीको उपलब्धता सुनिश्चित गरिएको छ ।
पानीसँगै घाँसेमैदान व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवै सुदृढ बनेका छन्। प्रमुख कँडेलका अनुसार बाघका मुख्य आहारा प्रजाति चित्तल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आहारा प्रजातिको वृद्धि भएसँगै बाघ संरक्षणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए ।
विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्यानका मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन्। यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनाका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको निकुञ्जको भनाइ छ ।
“कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई एकसाथ मजबुत बनाएको छ,” प्रमुख कँडेलले भने। उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जको यो प्रयास चुरे तथा भावर क्षेत्रका अन्य संरक्षण कार्यक्रमका लागि समेत उदाहरणीय अभ्यासका रूपमा स्थापित हुँदै गएको छ ।







प्रतिक्रिया राख्नुहोस्